बाँकेको खजुरा गाउँपालिका स्थानीय तह स्वमुल्याङ्कनमा  उत्कृष्ट पालिका घोषित

बाँके । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) २०८०/८१ मा बाँके जिल्लाका आठ पालिका मध्ये खजुरा गाउँपालिका उत्कृष्ट पालिका घोषित भएको छ । विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा खजुराले ८५.७५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।

त्यस्तै कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याउँदै दोस्रो स्थानमा परे भने नेपालगन्ज उपमहानगरपालिकाले ८२ अंक प्राप्त गरेको छ । यसैगरी डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाले ७३ अंक ल्याएका छन् ।

मूल्याङ्कनको क्रममा खजुरा गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५०, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तीय तथा आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १२.५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ र सहकार्य तथा समन्वयमा ५.५० अंक हासिल गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तफानका अनुसार कार्यविधिले तोकेका सूचकका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै कर्मचारीले जिम्मेवारीपूर्वक काम गरेर अभिलेखीकरण व्यवस्थापनमा सुधार ल्याउन सकेकोले उत्कृष्ट नतिजा प्राप्त भएको हो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले स्थानीय सरकारको कार्यप्रक्रिया, शासकीय प्रणाली र विकास व्यवस्थापनमा सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने गरिएको छ ।