नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक गर्मीको कारण नगर भित्रका सबै विद्यालयमा एक हप्ताको लागि बिदा दिने निर्णय गरेको छ। आइतबार (२६ जेठ) देखि लागू हुने गरी शुक्रबार (३१ जेठ) सम्म विद्यालय बन्द रहने सूचनामा जनाइएको छ ।
वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा हालको तीव्र तापक्रमले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सावधानी स्वरूप एक हप्ते गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ।
सूचनामा एक हप्तापछि मौसमको अवस्था हेरी विद्यालय खोल्ने वा नखोल्ने निर्णय पुनः जानकारी गराइने पनि उल्लेख गरिएको छ । गर्मीको चपेटामा परेका तराई क्षेत्रका अन्य जिल्लाहरूमा पनि यस्तै निर्णय हुने क्रम जारी छ ।
स्थानीय अभिभावक र शिक्षकहरूले उपमहानगरपालिकाको निर्णयको स्वागत गरेका छन्। अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेकाले विद्यालय बन्द गर्नु उपयुक्त निर्णय भएको उहाँहरूको भनाइ छ ।
गर्मी बढेसँगै घरमै रहने विद्यार्थीहरूलाई पर्याप्त पानी पिउन, चिसो स्थानमा बस्न, र धूपमा ननिस्कन स्वस्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।





बिहानीको तारा । २३ जेष्ठ २०८२, शुक्रबार १४:४४