
५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भारत–चीनबीच लिपुलेक हुँदै व्यापार खोल्ने सहमतिप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरासम्बन्धी संवेदनशील विषयमा भारत र चीनले नेपाललाई जानकारी नदिई सहमति गरेको खबर सार्वजनिक भएको भन्दै आपत्ति प्रकट गरे।
‘सम्माननीय सभामुखज्यू, आज नेपाल आमा पीडामा छ,’ उनले भने, ‘हाम्रा दुई छिमेकी मित्र राष्ट्रहरूले नेपालको अनुमति र जानकारीबिना लिपुलेक पास प्रयोग गरेर व्यापारिक सहमति गरेको खबरले हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’
पाण्डेले संविधानले स्पष्ट रूपमा नेपालको भूभागमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेको उल्लेख गर्दै यसप्रति सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरे। उनले विगतदेखि नै आफ्नो दलले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको प्रश्नमा कठोर आवाज उठाउँदै आएको स्मरण गराए।
सरकारको पहिलो दायित्व नै राष्ट्रिय सार्वभौमिकताको रक्षा भएको भन्दै उनले छिमेकी राष्ट्रहरूसँग प्रभावकारी कूटनीतिक पहल गर्न आग्रह गरे। ‘नेपालको सार्वभौमिकता र हितको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बेला आएको छ,’ उनले भने।



बिहानीको तारा । ५ भाद्र २०८२, बिहीबार १४:५१