पत्रकारमाथि बढ्दो आक्रमण र प्रेस स्वतन्त्रता हननविरुद्ध प्रेस सेन्टर नेपाल बाँकेले सरकारलाई बुझायो ज्ञापनपत्र

बाँके । प्रेस सेन्टर नेपालको केन्द्रिय कार्यक्रम अनुसार आज प्रेस सेन्टर नेपाल बाँके जिल्लाले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सूचना तथा संञ्चार मन्त्रालय सिंहदरवार र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशलाई १० बुँदे  ज्ञापन पत्र बुझाइएको छ ।

पछिल्ला समयहरूमा पत्रकारमाथि भएका भौतिक आक्रमण, सञ्चारगृहमाथिको आक्रमण र पेशागत असुरक्षाको बढ्दो घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै ज्ञापन पत्र बुझाएको हो ।

३२औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्कँदै गएको भन्दै संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी तयार पारिएका कानुनहरू खारेज गर्न र प्रेसमैत्री कानुन निर्माणको माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके जिल्लाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ज्ञापन पत्र बुझ्दै मन्त्रालय पठाउने बताउनु भयो ।

प्रेस सेन्टर नेपालले सरकारलाई सम्बोधन गर्दै यी मागहरू अविलम्ब कार्यान्वयन गर्न र पत्रकार सुरक्षासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

ज्ञानपन पत्र बुझाउन प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सिराज खान, गजेन्द्र गुरुङ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्ले बाँके जिल्ला अध्यक्ष चन्द्र बोहरा लागायत पुगेका थिए ।