
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुबाहरूप्रति सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
शिकागो शहरका श्रमिकहरुले आठ घण्टा कार्य समयको माग गर्दै सुरु गरेको ऐतिहासिक आन्दोलनको स्मरण गर्दै अध्यक्ष दाहालले नेपाललगायत विश्वभरका श्रमिकहरूले यो दिनलाई आफ्नो अधिकारका लागि गरिएको संघर्षको प्रतीकका रूपमा मनाउँदै आएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा श्रमिक वर्ग, किसान, मजदूर र उत्पीडित समुदायको योगदान उच्च रहेको बताउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सपना साकार पार्न श्रमिक वर्गको अग्रणी भूमिका अपरिहार्य रहेको बताएका छन् ।
उनले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादविरुद्ध निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउँदै श्रमिक वर्गले आफ्नो मौलिक पहिचानसहित यथास्थितिवाद र प्रतिगमनविरुद्ध सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
अध्यक्ष प्रचण्डले श्रमिक वर्गको जीवनस्तरमा सुधार ल्याउन समाजवादी कार्यदिशा अवलम्बन गर्नुपर्ने भन्दै सबै श्रमजीवी वर्गलाई एकताको सन्देश दिँदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुनः शुभकामना दिए ।



बिहानीको तारा । १८ बैशाख २०८२, बिहीबार ०८:१६