कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभा तेस्रो अधिवेशनको छैटौ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन् ।

प्रदेश संसद बैठकलाई सम्बोधन गरेर राजीनामा दिएका मुख्यमन्त्रीले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने छन् । मुख्यमन्त्री शर्माले यसअघि मंगलबार संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनविपरीत विश्वासको मत लिने अडानमा रहेका मुख्यमन्त्री शर्माले अन्ततः राजीनामा दिए ।

केन्द्रमा सत्तागठबन्धन दलहरूबीच भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि उनले विश्वासको मतको कार्यक्रम एक दिन पछि सारेका थिए ।

मुख्यमन्त्री शर्माले राजीनामा दिने क्रममा प्रदेश सभालाई सम्बोधन गर्दै संघीयताको प्रयोग, सरकार सञ्चालन, सुशासनको अवस्थाबारे गम्भिर समीक्षा गर्नुपर्ने बताए । संघ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अंक गणितको भद्दा प्रहसनमा रुमलिएको उनको तर्क छ ।

‘देशमा गणतन्त्र र संघीयता पश्चात झुप्रोमा बस्ने गरीब जनतालाई प्राथामिकता दिई आम जनताको भलाइका लागि नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नतिर केन्द्रित हुनुपर्ने हो’, मुख्यमन्त्री शर्माले भने, ‘तर हामी संसदीय अंक गणितको भद्धा प्रहसर्नमा मात्र रुमल्लिने त होइनौं भन्ने खतरा आइनै रह्यो ।’

शर्माले पटक पटक विश्वासको मत लिनुपर्ने अवस्थाले नियमित काममा अवरोध आउने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने अनुभूति भएको बताए ।

उनले केन्द्रीय राजनीतिमा देखिएको अंकगणितको सोझो असर प्रदेशमा परेको बताए । प्रदेश सरकारले आफनो स्वविवेक, स्वायतत्ता र स्वतन्त्रता प्रयोग गर्न पाए मात्र वास्तविक संघियतालाई बलियो बनाउन उनको तर्क छ ।

मुख्यमन्त्री शर्माले प्रदेशलाई संवैधानिक मर्मअनुुसार पूर्णरुपमा कार्यान्वयन लिन नसकेसम्म प्रदेशले विकास गर्न नसक्ने बताए ।