आज फेल भए भोलि ट्रायल दिने व्यवस्था गर्छौं : मुख्यमन्त्री पाण्डे

२९ फागुन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा भइरहेको ढिलाइ छिटै अन्त्य गर्ने बताएका छन् । आइतबार बागमती प्रदेशसभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले ट्रायल सेन्टरहरु बढाउने गरी कार्यविधि पास गरिसकेको बताए । १५ लाख नागरिक सवारी साधन प्रमाणपत्र पाउन लाइनमा छन् । तर अबको तीन वर्ष लाग्दा पनि उनीहरुले त्यो प्रमाणपत्र लिन सक्दैनन् । त्यो खालको अफ्ठ्यारो स्थिति छ’ उनले भने, ‘त्यसैले छिटो भन्दा छिटो सवारी साधन चालक प्रमाणपत्र दिन ट्रायल सेन्टरहरु बढाउने, त्यसको लागि पनि हामीले कार्यविधि पास गरिसकेका छौँ । आज फेल भएको मान्छेले भोलि नै ट्रायल दिन सकोस् भन्ने हिसाबले काम अघि बढाएका छौं ।’

मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयको सेवालाई विद्युतीय गर्ने पनि बताए । ‘चाँडै नै त्यो कार्यविधि अनुसार काम गर्न इच्छुक कम्पनीहरु आउनेछन् । हामी क्यासलेस सिस्टममा लैजान सक्छौं’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले अघिल्लो सरकारले ठूला आयोजनामा थोरै बजेट छुट्याउँदा काम हुन नसकेको बताए । २४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको भीमफेदी कुलेखानी सुरुङमा जम्मा ७५ करोड विनियोजन गरेको टिप्पणी गरे । ‘जुन पैसाबाट सुरुङ तत्काल बन्दैन, हामी जत्तिको राजनीतिक मान्छेले जनताको आँखामा सरासर धुलो हाल्नु हुन्छ र ? त्यो पैसा फ्रिज बनाउने कुरा मात्रै हुन्छ । त्यसबाट जनताको सेवा हुँदैन’ उनले भने । विद्युतीय बसका लागि पनि पूर्वाधार नबनाई बजेट छुट्याउँदा काम नहुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए । उनले भने, ‘चार्जिङ स्टेशन तयार छैन । विद्युतीय बस हिँड्ने सडक नै छैन । कहाँ चलाउने हो विद्युतीय बस ? चार्जिङ स्टेशन नबनीकन सडक पनि विद्युतीय बस चलाउन लायकको स्तरको नबनिकन विद्युतीय बसमा राखिएको पैसा फजुल खर्च हो ।