रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस र एमालेकाे तालमेल

पूर्वीरुकुम  । स्थानीय तह उपनिर्वाचनका लागि मंसिर १६ गते हुने निर्वाचनमा पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा हुने उपचुनावमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् । माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिने रुकुमपूर्वमा कांग्रेस – एमालेले तालमेल गरेका छन । दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन । बरु एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी छन् । आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर विजयी भएकी थिइन् । भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।

पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकाले उम्मेदवारी दर्ता गरेका छन् । वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २३४ र कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गरेका थिए ।

कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको बताए ।