सरकारले ‘प्रिबजेट’का सिद्धान्त र प्राथमिकता भोलि संसदमा प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार सोमबार ‘प्रिबजेट’ छलफलका लागि बजेट तथा कार्यक्रमका सिद्धान्त, आयोजना वा कार्यक्रमका प्राथमिकता संसद्‍मा प्रस्तुत गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार मन्त्री महतले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस हुन लागेको हो । यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्‍मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।