नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिका १० स्थित सोफिया रेजिडेन्सियल इङलिस स्कुलको २१औं बार्षिक खेलकुद दिवस मंगलबार सम्पन्न भएको छ। एक सातासम्म सञ्चालन भएको खेलकुद कार्यक्रममा फुटबल, भलिबल, क्रिकेट लगायत दर्जनौँ विधामा प्रतिस्पर्धा सम्पन्न भएका थिए।
विद्यार्थीहरूलाई एल्लो, ब्लु, रेड र ग्रिन गरी चार हाउसमा विभाजन गरिएको थियो। प्रतिस्पर्धा रोचक र तीव्र भए पनि मित्रता, सहकार्य र टोली भावना अझ सुदृढ बनेको थियो। जस अनुसार एल्लो हाउस प्रथम, ब्लु द्वितीय, रेड तृतीय र ग्रिन हाउस चौथो स्थानमा रहन सफल भए।
विद्यार्थीहरुको मार्चपास अनुशासित चाल र पिटी ड्रिलमा देखिएको तालमेलले उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनायो। दुई दर्जनभन्दा बढी ड्रिलमध्ये ‘I LOVE SOPHIA’ शीर्षकको विशेष प्रस्तुति सबैभन्दा आकर्षक बनेको थियो। विद्यार्थीहरूले आफ्नै शरीर, ताल र अनुशासनमार्फत अक्षर निर्माण गर्दा मैदान तालीको गडगडाहटले गुञ्जिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप-महानगरपालिका मेयर प्रसान्त बिष्टले खेलकुद केवल शारीरिक तन्दुरुस्तीको माध्यम नभई अनुशासन, नेतृत्व र सामाजिक उत्तरदायित्व सिकाउने महत्वपूर्ण पाठशाला भएको उल्लेख गरे। शिक्षा र खेलकुदलाई सन्तुलित रूपमा अघि बढाएकोमा विद्यालयप्रति उनले खुशी व्यक्त गरे।
विद्यालयकी सिइओ सुशीला बसेलले स्पोर्ट्स डे विद्यार्थी निर्माणको महत्वपूर्ण अध्याय भएको बताइन्। उनले हार-जितभन्दा माथि उठेर सिकाइको मूल्य बुझ्न विद्यार्थीलाई प्रेरित गरिन्। “हामी विद्यार्थीलाई केवल किताबमा होइन, जीवनमा पनि सक्षम बनाउन चाहन्छौँ,” उनले भनिन्।
विद्यालय व्यवस्थापन समितिका सचिव तथा पत्रकार डा. डक्टप्रसाद धितालले स्पोर्ट्स डे विद्यालयको समग्र दर्शनको प्रतिबिम्ब भएको धारणा राखे। प्रधानाध्यापक सुरेश गुरुङले यस कार्यक्रमलाई विद्यार्थीको बहुआयामिक मूल्याङ्कनको अवसरका रूपमा व्याख्या गरे। व्यवस्थापन समितिका अध्यक्ष केवि बसेलले खेललाई विद्यार्थीको उज्ज्वल भविष्य निर्माणको बलियो आधार भएको बताउनुभयो ।
कार्यक्रममा करिब २ हजार ८ सयभन्दा बढी मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ । अभिभावक र विद्यार्थीबीच देखिएको आत्मीयताले खेलकुदले पुस्ता जोड्ने सशक्त माध्यम भएको सन्देश दिएको थियो।
विजयी हाउसलाई सिल्ड प्रदान गर्दा विद्यालय परिसर उत्साहले भरिएको थियो। पुरस्कार ग्रहण गर्न विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए ।






सन्तोष कुमार बिष्ट । ५ फाल्गुन २०८२, मंगलवार २३:२६