पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो 

३१ असार २०८० काठमाडौं । नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ ।

नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, डिजेल र मट्टीतेलमा ४–४ रुपैयाँ घट्नेछ ।

पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यो मूल्य आजै राति १२ बजेबाट लागु हुनेछ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम हुनेछ भने डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।