नेपालगंजकाे मुख्य पाँच चोकमा अब ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान हुँदै


२८ जेष्ठ २०८० नेपालगंज । नेपालगंजका पाँच वटा मुख्य चोकहरुमा ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान हुने भएको छ । सडक विभागले सुर्खेतरोडको गणेशमान चोक, विपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा ट्राफिक लाइट लगाउन थालेको हो । पाँचै ठाउँमा एक महिनाभित्रै जडान कार्य सम्पन्न हुने गरी काम सुरु भएको छ । गणेशमान चोकबाट काम थालिएको छ । अहिले तार विछ्याउने काम भइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईको विशेष पहलमा सडक विभागद्वारा सुर्खेतरोडको मुख्य पाँच चोकमा ट्राफिक लाइट जडान हुने नेपालगंजउप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताए । मेयर विष्टले सवारी आगमन तथा ब्यस्त चोकहरुमा ट्राफिक लाइट लगाएपछि ट्राफिक व्यवस्थापन सहज हुने विश्वास व्यक्त गरे । सुर्खेतरोडमा पछिल्लो समय दुर्घटना बढ्दै गएको भन्दै उनले दुर्घटनाको जोखिम न्यूनीकरणमा पनि यसले सहयोग पुर्याउने बताए ।

सडक डिभिजन कार्यालय नेपालगंजका प्रमुख निरज शाक्यले सडक विभागको ठेक्का व्यवस्थापनमा ट्राफिक लाइट जडानको काम भइरहेको बताउँदै सडक डिभिजनको कार्य क्षेत्र परेकाले आफूहरुले सहजीकरण गरिरहेको जानकारी दिए । उनले एक ठाउँको काम सकिएपछि मात्रै अर्को ठाउँमा काम थाल्ने बताए । शाक्यले असार मसान्तसम्म पाँचै ठाउँको काम सकिने जानकारी दिए ।