म प्रधानमन्त्री बन्न एमालेको पनि लगानी छ, नीति तथा कार्यक्रमलाई सकारात्मक मान्दा फरक पर्दैन : प्रधानमन्त्री प्रचण्ड


१३ जेठ २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले गठबन्धन र कांग्रेस गठबन्धन दुवै सरकारका न्यूनतम साझा कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू प्रधानमन्त्री हुन एमालेको पनि लगानी रहेकोले नीति तथा कार्यक्रमलाई सकारात्मक रूपमा लिन आग्रह गरे ।

आफू सरकारमा आएपछि दुईवटा गठबन्धन सरकार बनेको बताउँदै पहिलो गठबन्धन सरकार हुँदा न्यूनतम साझा कार्यक्रम ल्याएको बताए । त्यतिबेला हाल प्रमुख प्रतिपक्षी दलका नेता रहेका केपी शर्मा ओलीले सो न्यूनतम साझा कार्यक्रमलाई ‘हिस्टोरिकल एण्ड एक्सेलेन्ट डकुमेन्ट’ भनेको प्रधानमन्त्रीले स्मरण गरे । दोस्रो गठबन्धनको सरकार बनाउँदा पहिलो न्यूनतम साझा कार्यक्रमका राम्रा कुरा समेटेर बनाएको बताउँदै उनले अहिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ती कुरा समेटिएकोले परम्परागत नीति तथा कार्यक्रम नभएको उल्लेख गरे ।

उनले भने–‘माननीय सदस्यहरूले गहिरो ढंगले बिचार गरिदिनुभयो भने यो पटकको अलि विशिष्टता, यो पटकको मौलिकता यसमा अन्तर्निहित छ । सबै दलका नेता र माननीय सदस्यहरूको पनि अपनत्व र स्वामित्व कुनै न कुनै रूपमा यो नीति तथा कार्यक्रममा प्रतिबिम्बित भएको कुरालाई आत्मसाथ गर्न जरुरी छ ।’

विगतको भन्दा फरक पृष्ठभूमि र सन्दर्भका साथ नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री प्रचण्डको जोड छ । उनले आफू संसद्को ९९ प्रतिशत सांसदको समर्थन रहेको प्रधानमन्त्री बनेको र अहिले पनि आफूसँग बहुमत बढी सदस्यको समर्थन रहेको बताए । उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई इंगित गर्दै यो प्रधानमन्त्री बनाउन मेरो पनि लगानी छ भनेर किन सकारात्मक रूपमा नलिने भन्दै प्रश्न समेत गरेका छन् । अघिल्लो र पछिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको बताउँदै त्यसबारेमा गम्भीर ढंगले बिचार गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एक हदसम्म कर्मकाण्डी रहेको पनि स्वीकार गरे । उनले कार्यक्रममा समेटिएका आधारभूत कुराहरू अघिल्ला सरकारले ल्याएजस्तै विषयहरू रहेको बताए ।

प्रचण्डले भने–‘म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । कैयौँ आधारभूत कुराहरू पोहोर साल, परार सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । यसकारण यो कर्मकाण्डी नै हो भने म के ठान्छु भने हिजो सरकारको नेतृत्व गर्ने पार्टी र नेता साथीहरूले भन्नुपर्ने हुन्छ, ‘बिलकुल ठीक आयो । हामीले ल्याएको जस्तै आयो । हामीले यस्तै ल्याउँथ्यौँ, अहिलेको सरकारले पनि त्यस्तै ल्यायो’ भनेर समर्थन गर्नुपर्ने मैले देख्छु ।’ प्रधानमन्त्री प्रचण्डले यो अघिल्ला सरकारले ल्याएको नीति तथा कार्यक्रम अहिलेभन्दा गुणात्मक थियो र भन्दै प्रश्न समेत गरेका छन् ।