मेडिकल शिक्षा झन महँगो, एमबीबीएस अध्ययनको शुल्क ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुग्यो

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८-७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ । मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डाक्टर भोजराज काफ्लेले जानकारी दिनुभयो ।

गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डाक्टर काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’ शैक्षिक सत्र २०७७-७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो । तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ ।

उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ । त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकोमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

हेर्नुहोस् शुल्कको सूची
कार्यक्रम बढेको शैक्षिक शुल्क

एमबीबीएस (उपत्यका भित्र) ४१,६८,०८७
एमबीबीएस (उपत्यका बाहिर) ४५,९५,७२१
बीडीएस २०,९२,२८४
बीएससी नर्सिङ १०,३६,०००
बीपीटी-बीएससी एमएलटी- बीएससी एमआईटी-बीएससी मेडिकल माईक्रोबायोलोजी-बायोकेमेस्ट्री ७,७७,०००
बीएएमएस ११,३१,९३३
बीएनएस एन्ड पीबीएन ५,१८,०००
बी फार्मा-बीपीएच-बीओपीटीएम-बीएएसएलएपी ७,७७,०००
एमडी-एमएस क्लिनिकल २३,८१,७६४
एमडी-एमएस बेसिक साईन्स १०,८५,८६७
एमडीएस क्लिनिकल २३,८१,७६४
एमडीएस बेसिक साईन्स १०,८५,८६७
एमडी आयुर्वेद ९,५७,६४२
एमएन-एमएससी नर्सिङ-एमपीएच ९,२०२२७
एम फार्मा ५,१९६५७
एम.एससी मेडिकल-माईक्रोबायोलोजी-बायोकेमेस्ट्री-एमएससी एमआईटी-एमएलटी ७,५७,८३४
एमएससी बेसिक साईन्स ७,५७,८३४
एम फील क्लिनिकल साईकोलोजी ३,०४,२१६
डीएम-एमएचसी २५,९०,०००

अनलाइन खबर डटकमबाट