पूर्वसांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

१ जेष्ठ २०८० काठमाडौँ । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी  प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजी रहेको छ । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको छ ।

शेर्पाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालिमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् । भेटमा शेर्पाले आरोपीहरुलाई बयान गर्दा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

हिरासतमा गएर शेर्पाले कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएको थाहा भएको छ ।

तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको सानु भण्डारीले बयानमा खुलाएका छन् । थुनामै रहेका केशव दुलाल मार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्–‘मन्त्री खाण र सचिव पाण्डेका लागी एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौं ।’

१ करोड २५ लाख नगद बुझाएको बयान गरेपछि प्रहरीले बालकृष्ण खाँणलाई प्रहरीले वैशाख २७ मा पक्राउ गरेको थियो । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् । केसीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखिएको छ । रातोपाटी बाट साभार