काँग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो

१६ असार २०७९ काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो ।गुरुङका अनुसार ओखलढुंगाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो । ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले रातोपाटीलाई जानकारी दिए ।

गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए । गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए । गाडीमा सवार सबै जना सकुशल रहेको भन्दै डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको बताए ।