दुई महिने सीपमुलक तालिम संचालन

फाल्गुन २०७९ बाँके । राप्ती सोनारी गाउँपालिकाका महिला तथा पुरुषहरुलाई विभिन्न सीपमुलक तालिमहरु दिन थालिएको छ । लुम्बिनी प्रदेश मन्त्री समेत रहेकी कृष्णा केसी (नमुना)को निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकमबाट तालिम दिन थालिएको हो । मंगलबार मन्त्री केसीले उद्घाटन गरेको तालिममा गाउँपालिका भित्रका १३५ जनाको सहभागिता रहेको छ । सो अवसरमा बोल्दै मन्त्री केसीले आफ्नो निर्वाचन क्षेत्रमा क्रमश बेरोजगारीको समस्या हटाउने उद्देश्यले तालिमको लागि बजेट विनियोजन गरिएको बताइन ।

‘भौतिक विकासले मात्र यहाँका मानिसहरुको जिवनस्तर माथि उकास्न सकिदैंन’ उनले भनिन्, ‘अहिले पनि हातमा सीप नहुँदा धेरैजना बेरोजगार बस्नुपरेको छ । विस्तारै मेरो निर्वाचन क्षेत्रका जनताहरुलाई सीप सिकाउने मेरो लक्ष्य छ ।’ पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको लागि सीपमुलक तालिम सञ्चालन गर्न ७० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिइन ।

अहिलेलाई बेसिक तालिमको लागि बजेट छुट्याइएको बताउँदै उनले आगामी दिनमा एडभान्स तालिम सञ्चालन गर्न रकम विनियोजन गरिने प्रतिवद्धता जनाइन । उनका अनुसार महिलाहरुका लागि ब्युटीपार्लर, सिलाई कटाई, कम्प्युटर तालिम सञ्चालन हुनेछ । पुरुषहरुका लागि हाउस वायरिङ्ग र मोबाईल मर्मत तालिम सुरु गरिएको मन्त्री केसीले जानकारी दिइन । प्रत्येक वडाबाट १५ जनाका दरले १३५ जनालाई विभिन्न विधामा सीपमुलक तालिमहरु दिइनेछ । वडा नम्बर २,३,६ र ८ मा सिलाई कटाई, वडा नम्बर ५ र ९ मा ब्युटीपार्लर, वडा नम्बर ७ मा हाउस वायरिङ्ग, ४ मा कम्प्युटर र १ मा मोबाइल तालिम सञ्चालन हुनेछ । सहजताको लागि सबै तालिमहरु सम्बन्धित वडामा नै हुने व्यवस्था मिलाइएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ ।

३६० घण्टाको तालिम पश्चात सहभागीहरुलाई सामाग्रीहरु समेत दिने मन्त्री केसीले बताइन । ‘आत्मनिर्भर बन्नलाई यो तालिमले धेरै नै सहयोग गर्नेछ भन्ने मैले अपेक्षा लिएकी छुँ’ उनले भनिन, ‘तालिममा तपाईहरुले राम्रोसँग ध्यान दिएर पूरै अवधि बस्नुहोला ।’

तालिम उद्घाटन समारोहमा बोल्दै राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनीषा सिंह थारुले सीपमुलक तालिमको लागि बजेट व्यवस्थापन गरिदिएकोमा मन्त्री केसीलाई धन्यवाद दिइन । ‘हाम्रो पालिकाका १३५ जनालाई विभिन्न सीपमुलक तालिमको लागि बजेट विनियोजन गरिदिएकोमा मन्त्री ज्यूलाई धन्यवाद दिन चाहान्छु’ उनले भनिन, ‘अब पालिकामा औद्योगिक क्षेत्र स्थापनाको लागि समेत पहल गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौं । पालिकामा औद्योगिक क्षेत्रको स्थापना गर्न सके पालिकाबासीलाई रोजगारी अवसर प्राप्त हुने उपाध्यक्ष थारुले बताइन । ‘औद्यागिक क्षेत्र स्थापना भए रोजगारीका धेरै अवसर खुल्छन् । मन्त्री ज्यूले पहलकदमी लिनुहुनेछ भन्ने आशा पालिकाले राखेको छ’ उनले अगाडि भनिन ।उद्घाटन समारोहमा वडा नम्बर ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल र ७ का अध्यक्ष रामलखन थारुले सम्बोधन गरेका थिए ।