लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

१ चैत्र २०७८ काठमाण्डौं । सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए ।

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ  यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा थिए ।