भाडाकै भवनमा सेवा दिदै यातायात कार्यालय नेपालगंज

१३ माघ २०७९ नेपालगन्ज । लुम्बिनी प्रदेशकाे सबै भन्दा बढी राजश्व संकलन गर्ने कार्यालय भनेकै यातायात कार्यालय हाे । तर उक्त कार्यालय अहिले सम्म भाडाकै घरबाट कार्यालय संचालन गर्दै आइरहेकाे छ । आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधारको अभाव झेल्दै आएको यातायात ब्यवस्था कार्यालय नेपालगंज फेरी पनि अस्थायी भाडाकै भवनमा सरेको छ ।

नेपालगंज कोहलपुर सडक खण्ड अन्तर्गत पर्ने काँरकादोस्थित भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको यातायात कार्यालयले गत सातादेखी भने नेपालगंज ९ स्थित बाँकेगाउँमा भाडाकै भवनबाट नियमित सेवा दिन थालेको हो । सडक विस्तार र घरधनीले पनि कार्यालय सार्न आग्रह गरेपछि यातायात कार्यालय बाँकेगाउँ सर्नु परेको हो ।

लुम्विनी प्रदेश सरकार, श्रम तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात ब्यवस्था कार्यालय नेपालगंज स्थानीय रामलिला मैदानको दक्षिणतिर बाँके गाउँमा सरेपछि त्यस क्षेत्रमा अहिले मानिसहरुको चहलपहल सगैं ब्यवासायिक गतिविधि पनि बढेको स्थानीयले बताएका छन । तर, सो स्थानमा सेवाग्राहीको भिडभाडले गर्दा सडक जाम हुँदा सवारी साधन ओहोरदोहोर गर्न र पैदल यात्रीहरुलाई हिड्नमा कठिनाई भैरहेको स्थानीयले गुनासो गरेका छन ।

यातायात ब्यवस्था कार्यालय नेपालगंजमा भएपनि प्राविधिक सिप परीक्षण (ट्रायल)को कार्य भने कोहलपुरबाट नै हुने यातायात कार्यालयले जनाएको छ । भाडाको भवनबाट सेवा प्रवाह गर्दा समस्या खेप्नुपर्ने र भने जस्तो भौतिक संरचना पाउन कठिन हुने भएकाले आफ्नै जग्गा र भवनको खोजीमा यातायात कार्यालय धेरै बर्षदेखी खोजीमा लागीरहेको छ ।

नेपालगंजमा कतै पनि ठाउँ नपाएपछि कोहलपुर स्थित प्राविधिक सिप परीक्षण गर्ने (ट्रायल) सेन्टरकै जग्गामा कार्यालय संञ्चालन गर्न सकिने केही संम्भावना रहेपनि राजनीतिक नेतृत्वले भने नेपालगंजबाट कोहलपुर यातायात कार्यालय लैजान समर्थन नजनाएको बताईन्छ ।

त्यसकारण पनि यातायात ब्यवस्था कार्यालय अहिले पनि आफनै जग्गा समेतको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने कार्यको खोजीमा रहेको छ । तर राजनीतिक नेतृत्वले न त जग्गा उपलब्ध गराउन सकेका छन । न त कार्यालय नै सार्न सहमति जनाएका छन ।

यातायात ब्यवस्था कार्यालय नेपालगंजबाट सवारी दर्ता, नामसारी, प्रतिलिपी, नविकरण तथा सरुवा सहमति, सवारीको जाँचपास, जाँच पासको नविकरण तथा प्रतिलिपी, बाटो इजाजत पत्र, बाटो इजाजत पत्र नविकरण, प्रतिलिपी, सवारी चालक अनुमति जारी, सवारी चालक अनुमति पत्रमा वर्ग थप लगायतका कार्यहरु हुदै आएका छन ।