माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी

सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यकाे उम्मेदवार बन्ने

१५ असोज२०७९ विराटनगर । इटहरी उप-महानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन् ।

चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए । उनले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताए ।

उनी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ । पार्टी नेतृत्व टिकट दिन तयार भएपछि चौधरी पार्टी प्रवेश गर्न सहमत भएको माओवादी केन्द्र सुनसरीका एक नेताले बताए ।