संघीय निर्वाचन लड्ने तयारीमा कुलमान घिसिङ

१४ भदौ २०७९ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले मंसिर ४ मा हुने चुनाव लड्ने आकांक्षा देखाएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा लड्नका लागि माओवादीसँग निरन्तर छलफलमा रहेका नेताहरुले बताएका छन् । माओवादी केन्द्रका प्रस्तावित पोलिटब्युरो सदस्य महेश्वर दाहालले घिसिङले माओवादीको तर्फबाट चुनाव लड्नका लागि आकांक्षा राखेको पुष्टि गरे । ‘कुलमान घिसिङले चुनाव लड्न इच्छा राख्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘माओवादीसँग भएको छलफलअनुसार नै अध्यक्ष प्रचण्डले संकेत पनि गर्नुभएको हो ।’ घिसिङले कहाँबाट चुनाव लड्ने भन्नेबारे चाहिँ छलफलकै क्रममा रहेको दाहालले बताए । घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने चर्चा चलिरहेको छ । तर दाहालले भने काठमाडौं ३ वा रामेछाप कहाँबाट उठ्ने भन्नेबारे पार्टीले निर्णय गर्न बाँकी रहेको बताए ।

घिसिङको गृहजिल्ला रामेछाप भएकाले त्यहाँ पनि उनको राम्रो प्रभाव रहेको बताइन्छ । घिसिङ माओवादीकै जोडबलमा दोस्रो कार्यकालका लागि विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएर गएका थिए । उनी कार्यकाल नसकिँदै प्राधिकरणबाट राजीनामा दिएर चुनाव लड्ने योजनामा लागेका हुन् । घिसिङले भने यसबारे मुख खोलिसकेका छैन ।

चर्को लोडसेडिङको मारमा देश रहेको बेला लोडसेडिङ गरेपछि घिसिङको लोकप्रियता ह्वात्तै बढेको थियो । शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष प्रचण्डले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए । ‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो’, प्रचण्डको भनाइ थियो ।

माओवादीले लोकप्रिय उम्मेदवार उठाएर काठमाडौंमा प्रभाव बढाउने रणनीति बनाएको छ । माओवादीको गत केन्द्रीय समिति बैठकमा सहरी क्षेत्रमा पार्टी कमजोर भएको भन्दै विशेष योजना बनाउनुपर्नेमा नेताहरुले नेतृत्वलाई सुझाव दिएका थिए ।