आगामी निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छापिने, यसरी गर्दैछ आयोगले काम

निर्वाचनका लागि १० अर्ब खर्च अनुमान, अर्थ मन्त्रालयमा छलफल हुँदै

५ भदौ २०७९ काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५ सय ३ प्रकारका मतपत्र छाप्ने भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ सय ६५ प्रकार र प्रदेशतर्फ ३ सय ३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ । यस्तै ७ प्रकारका प्रदेशसभाका समानुपातिक तर्फको मतपत्र र प्रतिनिधिसभा तर्फ समानुपातिकतर्फ १ प्रकारको मतपत्र छाप्ने तयारी गरिएको छ ।

आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन क्षेत्रमा जुन पार्टीबाट उमेदवार उठ्छन् उम्मेदवार सोही चिन्ह मात्र मतपत्रमा राख्ने जनाएको छ । आइतबार आयोगले गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ बन्द सूचीमा उम्मेदवारी दिने दलहरूको मात्र निर्वाचन चिन्ह राखी मतपत्र छपाई हुने जानकारी दिएका छन् । मतदान स्थलमा मतदाताका लागि चारवटा छुट्टाछुट्टै मतपत्र, मत संकेत गर्ने स्थान र मत पेटिकाको व्यवस्था हुने उनले बताए ।

आगामी निर्वाचनमा चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रमका मतदाता लगायतलाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि पनि तयारी भइरहेको प्रवक्ता पौड्यालले जानकारी दिए । यस्तै आगामी निर्वाचनका लागि झण्डै ५ लाख मतदाता थपिने आयोगको अनुमान छ ।

निर्वाचनका लागि १० अर्ब खर्च अनुमान, अर्थ मन्त्रालयमा छलफल हुँदै

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब हाराहारी खर्च हुने आयोगले जनाएको छ । आयोगले बनाएको आर्थिक कार्यविधि २०७९ बजेट सिलिङ सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको, आजै त्यसबारेमा आयोगका पदाधिकारी र अर्थ मन्त्रालय बीच छलफल हुने प्रवक्ता पौड्यालले बताए ।

आयोगले विकेन्द्रीकृत तवरले खर्चमा जोड दिएको बताउँदै उनले आयोगले मितव्ययी निर्वाचनलाई प्राथमिकता दिएको बताए । यस्तै निर्वाचन अधिकृतले कार्य सम्पन्न गरेपश्चात् आन्तरिक लेखा परीक्षण गरी खर्चको श्रेस्ता निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान राखिएको उनले बताए ।

यस्तै आयोगले निर्वाचन अनुगमन निर्देशिका तयार पारिरहेको, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको अनुगमन गर्ने, केन्द्र तथा जिल्लास्तरमा अनुगमन संयन्त्र, अनुगमन टोली निर्माण गर्ने जनाएको छ । यस्तै आयोगले हालसम्म निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका, कार्यविधिको तर्जुमा, राजनीतिक दल दर्ता आव्हान र कागजातमाथि जाँचबुझको काम भइरहेको, मतदाता नामावली अद्यावधिकको काम सुरू गरेको र मतदानस्थलको पुनरावलोकनको काम गरिरहेको उनले बताए ।

आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, समानुपातिक निर्वाचन प्रणालीतर्फ को निर्वाचन कार्यक्रम स्वीकृत गरेको, अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आव्हान गरिएको प्रवक्ता पौड्यालले बताए ।

यस्तै कर्मचारी व्यवस्थापन, निर्वाचन अधिकृतको कार्यालय स्थापना सम्बन्धमा सरकारलाई निर्देशन दिइएको र निर्वाचन सामग्री खरिद प्रकृया सुरू गरेको उनले बताए । निर्वाचनमा ५७ प्रकारका सामग्रीको प्रयोग हुने र त्यसका लागि आयोगले ४२ प्रकारका सामग्री खरिद गर्ने, जिल्लाबाट १५ प्रकारका सामग्री खरिद गर्ने तयारी भइरहेको छ । यस्तै आयोगसँग मौजाद रहेको सामग्री पनि प्रयोग गर्ने उनले बताए ।

साथै आयोगले निर्वाचन आचारसंहिता २०७८ परिमार्जन गर्न लागेको र त्यसका लागि राजनीतिक दफाहरूसँग परामर्श गर्न लागेको छ । आयोगले आचारसंहिता कार्यान्वयनका लागि केन्द्र र प्रदेशस्तरमा राजनीतिक दल लगायतका सरोकारवालाहरूलाई अभिमुखीकरण गर्ने योजना बनाएको छ । स्राेत राताेपाटी