नक्कली भुटानी शरणार्थी प्रकरणका गिरोहलाई कारबाही गर्न माग

०३ बैशाख २०८० काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कारबाही गर्न माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले सो गिरोहमा पूर्वमन्त्री समेत संलग्न भएको, गृह मन्त्रालयको गाडी समेत प्रयोग भएको विषयबारे संसदमा ध्यानाकर्षण गराएका हुन् ।

उनले भने,‘नेपाल सरकारले २०७५ साल मंसिर ३ गते बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय बमोजिम २०७६ साल साउन २४ गते तत्कालीन गृहमन्त्रीको संयोजकत्वमा ९ सदस्य समिति गठन भयो । पछि नेपालीलाई भुटानी शरणार्थी बनाउन नेपाली गिरोह सक्रिय भयो । त्यसमा तत्कालीन मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारीहरूको समेत नाम मुछियो । एकजनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएको, गृह मन्त्रालयको गाडी प्रयोग भएको र मन्त्रीहरुको नातेदारको नाममा चेक समेत काटिएको म्यासेन्जर र हाट्सएपमा कुराकानी भएको रेकर्ड भेटिएको छ । त्यस कारण यो मानव बेचबिखन र ठगीको जघन्य अपराध हो । अपराधमा संलग्न जोसुकै होस कारबाहीको दायरामा ल्याउनुपर्छ ।