तारा एयरको जहाज दुर्घटना : थप उद्धार टोली लिएर गएको हेलिकोप्टर अवतरण गर्न सकेन

नेपाली सेनाको खोज तथा उद्धार टोली

१६ जेठ २०७९ काठमाडौं । प्रतिकुल मौसमका कारण तारा एयरको हजाईजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका अनुसार कैलाश र डाइनस्टी एयरको हेलिकोप्टरमार्फत टोली पठाउने प्रयास भए पनि सम्भव भएको छैन । त्यहाँको खोंचमा सर्भाइभल छ कि भनेर खोज्ने प्रयास भइरहेको छ तर अहिले थप टोली पठाउन सकिएको छैन’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘तीन पटकसम्म गरिएको प्रयास असफल भएर हेलिकोप्टर डाइभर्ट भएको छ ।’

अहिले कोभाङमा कैलाश र डाइनस्ट्री एयरको हेलिकोप्टर तैनाथ राखिएको उनले बताए । उनका अनुसार जोमसोम विमानस्थलमा फिस्टेल एयरको जुलियट रोमियो नामक हेलिकोप्टर पनि तैनाथ छ ।

हालै नेपाली सेनाको हेलिकोप्टरले ११ हजार फिटको उचाइमा १५ जनाको फौजलाई उतारेको छ । उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् । दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई पटकमा उक्त हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको अधिकारीहरू बताउँछन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार दुर्घटना भएको स्थानमा ठूलो हेलिकोप्टर पठाउन सम्भव देखिएको छैन । त्यसैले सानो हेलिकोप्टरबाट पठाउने प्रयास जारी छ । उनले अनलाइनखबरसँग भने, ‘अहिले माथि भएको टोलीले शव संकलनको कार्य गरिरहेको छ ।’

शवलाई संकलन गरेर सिधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याउने तयारी छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जहाजमा सवार २२ जनाकै मृत्यु भएको आशंका गरिएको अनलाइनखबरलाई बताए । ‘परिस्थिति हेर्दा पनि कोही जीवित भएजस्तो देखिन्न, यद्यपि आधिकारिक विवरण आउन केही समय लाग्छ’ उनले भने ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

सोमबार बिहान यार्सागुम्बा संकलन गर्ने किसानले दुर्घटनाग्रस्त जहाजको अवशेष फेला पारेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली हेलिकोप्टरमार्फत त्यसतर्फ गएका थिए । नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।