
नेपालगन्ज । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता: लागू औषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नारासहित आज २०८२ असार १२ गते (२०२५ जुन २६) को दिन ३८औं अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवसका अवसरमा बाँके जिल्लामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा भएको बृहत प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरू, लागू औषध नियन्त्रणका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, समाजसेवीहरू, मिडियाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेको प्राङ्गणबाट सुरु भई विभिन्न स्थान परिक्रमा गर्दै भेरी प्राविधिक शिक्षालय परिसरमा समापन गरिएको थियो। प्रभातफेरीमार्फत सहभागीहरूले लागू औषध दुरुपयोगका विरुद्ध समाजमा सचेतना फैलाउनु पर्ने सन्देश दिएका थिए।
कार्यक्रमले लागू औषध दुरुपयोगविरुद्ध ऐक्यवद्धता प्रकट गर्दै सुरक्षित र समुन्नत समाज निर्माणमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको कुरामा जोड दिएको छ।



बिहानीको तारा । १२ असार २०८२, बिहीबार ११:२१