अधिकारी नेतृत्वमा आएसँगै वायुसेवा निगम सुधारको बाटोमा

२१ बैशाख २०७९ काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको नेतृत्वमा युवराज अधिकारी आएसँगै निगम सुधारको बाटोमा अघि बढेको छ । अधिकारी नेतृत्वमा आएसँगै निगमका जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी र गन्तव्य विस्तार भएको छ । अहिले निगम सुधारोन्मुख अवस्थामा रहेको पनि तथ्य सार्वजनिक भएको छ । अधिकारीले २०७८ कार्तिकमा निगमको नेतृत्व सम्हालेका हुन् । उनी नेतृत्वमा आएपछिका छ महिनामा निगमको मूल शक्तिको रुपमा रहेका कर्मचारीहरुको सहयोगमा निगमको सुधारमा आशातित सफलता हाँसिल भएको निगम व्यवस्थापन पक्षले जनाएको छ ।

निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको पनि जनाईएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी ५ अर्ब ७० करोड रहेको थियो । त्यस्तै, सीट अकुपेन्सी तथा विमानको उपयोगिता पनि सकारात्मक रहेको छ । उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ । अहिले निगमले साउदीको रियादमा नियमित उडान प्रारम्भ गरेको छ ।

बिज्ञप्ती सहित