नेपालगन्ज । तराई क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको छ। लगातारको शीतलहर र बाक्लो कुहिरोका कारण विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा सडकमा बसोबास गर्ने व्यक्तिहरू बढी प्रभावित भएका छन्।
चिसोबाट जोगाउनका लागि नेपालगन्ज उप-महानगरपालिकाले नगरभित्रका मुख्य-मुख्य चोक चौराहामा दाउरा वितरण गरेको छ। उप-महानगरपालिकाको अगुवाइमा गरिएको दाउरा वितरणमा मेयर प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा आफै नगर प्रहरीको गाडीमा दाउरा लिएर चोक-चोकमा आगो बाल्दै दाउरा बितरण गरेका थिए।
दाउरा वितरण गर्दै मेयर विष्टले अत्यधिक चिसोको समयमा विपन्न तथा सडक आश्रित नागरिकलाई न्यानो प्रदान गर्नु उप-महानगरपालिकाको दायित्व भएको बताउनुभयो। उहाँले चिसो बढिरहेकाले आवश्यक परे थप सहयोगका गरिने जानकारी दिनुभयो।
उप-महानगरपालिकाले चिसोको जोखिमलाई मध्यनजर गर्दै दाउरा वितरणसँगै नागरिकलाई सुरक्षित रहन, न्यानो लुगा प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



सन्तोष कुमार बिष्ट । १५ पुष २०८२, मंगलवार १६:०४