स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचारसंहिता सर्वोच्चद्वारा सदर

६ बैशाख २०७९ काठमाडाैं । जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिताविरुद्धको रिट सर्वोच्च अदातलतले खारेज गरेको छ । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले निर्वाचन आयोगको उक्त प्रावधानविरुद्ध रिट दायर गरेका थिए ।

रिट खारेज भएसँगै हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ । न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार आयोगको निर्णयलाई सदर गर्दै रिट खारेज गरिदिएको हो । आयोगले स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने बाध्यकारी आचारसंहिता लागू गरेको छ । आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने उल्लेख छ।