
बर्दिया । बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक बैठक उपप्रमुख तथा बाल अधिकार समिति संयोजक श्त्नकुमारी पाण्डेको अध्यक्षतामा तथा नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
नगरपालिकाका नगर बाल अधिकार समिति तथा सातवटा वडाका वडा बाल अधिकार समितिका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकमा स्थानीय तहमा बाल अधिकारको अवस्था, बाल संरक्षणका विद्यमान संयन्त्रहरूको समीक्षा गर्दै बालबालिकाको संरक्षण प्रणालीलाई थप प्रभावकारी, समन्वयात्मक र उत्तरदायी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको थियो।
उक्त कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजना बाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त भएको थियो।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत वडा नं. २ का वडा अध्यक्ष रामफेरन थारु, वडा नं. ३ का नन्दलाल थारु, वडा नं. ४ का सीताराम योगी, वडा नं. ६ का झकबहादुर ओली क्षेत्री, वडा नं. ८ का नरबहादुर चन्द तथा वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष कैलाशपति थारुको सहभागिता रहेको थियो।
त्यसैगरी, बाल अधिकार समिति सदस्य–सचिव उषा पुन, प्रहरी निरीक्षक विवेक भट्टाराई, शिक्षा अधिकृत कृष्ण थारु, स्वास्थ्य इन्चार्ज गोविन्द पौडेल, सामाजिक विकास संयोजक, सूचना प्रविधि अधिकृत जनकराम थारु लगायत सम्बन्धित नगरपालिका तथा वडा तहका संरचनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। राधाकृष्ण थारु जनसेवा केन्द्रका धिरज चौधरीले समेत सहभागिता जनाउनुभएको थियो।
कार्यक्रमको सहजीकरण बाल अधिकार समिति सदस्य–सचिव उषा पुनले गर्नुभएको थियो भने बैठकका एजेन्डा तथा स्थानीय बाल संरक्षण संयन्त्रलाई सुदृढ बनाउने विषयमा बाँके युनेस्को क्लबका परियोजना संयाेजक गाेविन्दप्रसाद लामिछानेले सहजीकरण गर्नुभएको थियो।
छलफलका क्रममा नगर तथा वडा बाल अधिकार समितिलाई नियमित बैठक, व्यवस्थित अभिलेखीकरण तथा प्रतिवेदन प्रणाली, बालबालिकाको विवरण संकलन तथा अद्यावधिक, जोखिममा रहेका बालबालिकाको प्रारम्भिक पहिचान र आवश्यक रेफरल तथा फलोअपमार्फत थप सक्रिय, कार्यशील र उत्तरदायी बनाउने विषयमा जोड दिइएको थियो।
त्यसैगरी, बालबालिकालाई हिंसा, दुर्व्यवहार, शोषण, बालविवाह, लागुऔषध दुरुपयोग, मानव बेचबिखन तथा अन्य बाल संरक्षणसम्बन्धी जोखिमहरूबाट सुरक्षित राख्न स्थानीय तह, समुदाय तथा सम्बन्धित सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो।
बैठकमा जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण र रेफरल प्रणाली सुदृढीकरण
बैठकको महत्वपूर्ण निर्णयका रूपमा जोखिममा रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, रेफरल तथा फलोअपका लागि व्यवस्थित र संस्थागत संयन्त्र विकास गर्ने सहमति गरिएको छ।
यस संयन्त्रमार्फत बालविवाह, हिंसा, दुर्व्यवहार, शोषण, लागुऔषध दुरुपयोग, मानव बेचबिखन, विद्यालय छाड्ने अवस्था तथा अन्य बाल संरक्षणसम्बन्धी जोखिममा रहेका बालबालिकाको समुदाय तथा वडा तहबाटै पहिचान गरी व्यवस्थित अभिलेख राख्ने र आवश्यकताअनुसार सम्बन्धित सेवा प्रदायक तथा संरक्षण संयन्त्रमा समयमै रेफर गर्ने व्यवस्था सुदृढ गरिनेछ।
वडा बाल अधिकार समितिहरूले अनिवार्य रूपमा नियमित बैठक सञ्चालन गर्ने तथा बैठकका निर्णय, बाल संरक्षणसम्बन्धी समस्या, रेफरल र फलोअपका कार्यहरूको व्यवस्थित अभिलेख राख्ने विषयमा समेत सहमति भएको छ।
त्यसैगरी, बडघर सञ्जाल, धार्मिक सञ्जाल, बाल तथा युवा क्लब, शिक्षक तथा अन्य समुदायमा आधारित संरक्षण संयन्त्रहरूलाई औपचारिक सूचना, समन्वय र सहकार्यका माध्यमबाट थप सक्रिय तथा परिचालन गर्ने विषयमा समेत निर्णय गरिएको छ।



सन्तोष कुमार बिष्ट । २५ भाद्र २०८३, बिहीबार १७:१४