स्व. गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस मनाइयो

७ चैत्र २०७८ नेपालगंज । नेपाली काँग्रेसले आज बिविध कार्यक्रम गरी स्व. गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस मनाएकाे छ । यस्तै नेपाली काँग्रेस बाँकेले साेही अवसरमा पार्टी कार्यालयमा विचार गोष्ठी गरेर कोइरालालाई सम्झिएको छ ।  जिल्ला सभापति नारायण प्रसाद गौडेलको सभापतित्व एवम् राष्ट्रियसभा सदस्य युवराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित विचारगोष्ठीमा बोल्ने बक्ताहरुले कोइराला नेपाली राजनीतिका शिखर पुरुष भएको चर्चा गर्दै उनकै नेतृत्वमा नेपालमा शान्ति स्थापना भएकाले कोइराला शान्ति नायक भएको बताए । विषम् परिस्थितिबाट मुलुकलाई निकास दिन अहम् भूमिका खेलेको बताउँदै बक्ताहरुले स्वर्गीय कोइराला नेपाली राजनीतिका अनुकरणीय व्यक्तित्व भएको उल्लेख गरे ।

विचारगोष्ठीमा प्रमुख अतिथि शर्मा, पार्टी सभापति गौडेल, निवर्तमान सभापति किरण कोइराला, कांग्रेस लुम्बिनी प्रदेशबाट बाँकेमा खटिएकी प्रदेश क्षेत्रीय प्रतिनिधि जानुका केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णा सापकोटा चौधरी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, महासमिति सदस्य गौरा भट्टराई, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, खजुरा गाउँपलिका सभापति रमेश सिजाली र प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले २०६२÷६३ को जनआन्दोलन मार्फत् संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाई गरेको स्मरण गरेका थिए ।