पहल बहादुर के.सि
नेपालगन्ज । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनएफ नेपाल ले कुष्ठरोग उन्मूलन तथा उपेक्षित उष्णदेशीय रोग (एनटीडी) नियन्त्रणका लागि आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने भएको छ।
नेपालगन्जस्थित आईएनएफ साइनिङ अस्पताल तथा संस्थाद्वारा सञ्चालित विभिन्न सेवा केन्द्रहरूको अवलोकनका क्रममा आयोजित कार्यक्रममा आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारी ले कुष्ठरोग उन्मूलनका लागि सरकार, स्थानीय तह, जनप्रतिनिधि तथा विकास साझेदारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताएका छन्। कार्यक्रममा खेमबहादुर सारु र बसन्ती अधिकारी सहितको टोली सहभागी रहेको थियो।
कार्यकारी निर्देशक अधिकारीले आईएनएफले दशकौँदेखि कुष्ठरोग प्रभावित व्यक्तिहरूको उपचार, पुनःस्थापना तथा सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे। संस्थाबाट सीप तथा अनुभव हासिल गरेका व्यक्तिहरूले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा सामाजिक सेवामा योगदान दिइरहेको उनले बताए।
उनका अनुसार नेपालले सन् २०१० मा कुष्ठरोग नियन्त्रणको औपचारिक घोषणा गरे पनि रोग पूर्ण रूपमा उन्मूलन हुन सकेको छैन। विशेषगरी लुम्बिनी प्रदेश अन्तर्गतका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा अझै पनि कुष्ठरोगका नयाँ बिरामी फेला परिरहेको उनले जानकारी दिए। रोगसँग जोडिएको सामाजिक विभेद तथा शारीरिक अपाङ्गताका समस्या अझै चुनौतीका रूपमा रहेको उनको भनाइ थियो।
आईएनएफले ‘शून्य कुष्ठरोग–२०३०’ को लक्ष्यलाई आत्मसात् गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। संस्थाले हरियो खर्क अस्पताल, आईएनएफ साइनिङ अस्पताल सुर्खेत, आईएनएफ साइनिङ अस्पताल बाँके तथा विभिन्न जिल्लामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा विकास परियोजनामार्फत कुष्ठरोग उन्मूलन अभियानलाई अघि बढाइरहेको छ।
यसैबीच, आईएनएफ साइनिङ अस्पताल बाँकेलाई स्तरोन्नति गरी ‘लेप्रोसी तथा एनटीडी हब (Leprosy and NTD Hub)’ का रूपमा विकास गर्ने योजना अघि सारिएको छ। आगामी आर्थिक वर्षभित्र आवश्यक पूर्वाधार विकास सम्पन्न गरी अस्पताललाई विशेषज्ञ सेवा केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य रहेको जनाइएको छ।
अधिकारीले यस्तो महत्वाकांक्षी योजना आईएनएफ एक्लैले सफल बनाउन नसक्ने उल्लेख गर्दै प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको निरन्तर सहयोग आवश्यक रहेको बताए। स्वास्थ्य मन्त्रीसहितको टोलीको भ्रमणले प्रदेश सरकारको सकारात्मक चासो र प्रतिबद्धताको सन्देश दिएको भन्दै उनले आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।
भ्रमणका अवसरमा कार्यकारी निर्देशक अधिकारीले स्वास्थ्य मन्त्री, प्रदेशसभा सदस्य, सरकारी अधिकारी, समाजसेवी, पूर्वपदाधिकारी तथा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन्। साथै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने आईएनएफ नेपाल बाँके टोली, केन्द्रीय कार्यालयका कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद ज्ञापन गरेका छन्।आईएनएफ नेपालले समुदायमा स्वास्थ्य सेवा विस्तार, कुष्ठरोग उन्मूलन तथा रोग प्रभावित व्यक्तिहरूको जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि आफ्नो अभियानलाई निरन्तरता दिने बताए ।






बिहानीको तारा । २१ जेष्ठ २०८३, बिहीबार १३:३६