नेपालगन्जको गोस्पल एसेम्बली चर्चमा भब्य रुपमा ख्रीष्टमस मनाइयो

दुई हजारभन्दा बढी मन जोडिएको प्रेम, विश्वास र सेवाको अनुपम उत्सव

नेपालगन्ज । बिश्वभर प्रभु यशु ख्रीष्टको जन्मोत्सवको अवसरमा ख्रीष्टमस कार्यक्रम मनाइने गरिन्छ। नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० स्थित गोस्पल एसेम्बली चर्चमा प्रभु येशू ख्रीष्टको जन्मको स्मरणमा आयोजित क्रीष्टमस विशेष कार्यक्रम भब्य रूपमा सम्पन्न भयो ।

करिब दुई हजार श्रद्धालुको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक पर्व मनाउने मात्र नभई प्रेम, आशा, सेवा र सहअस्तित्वको सशक्त सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

ख्रीष्टमस विश्वभरका ख्रीष्टियन समुदायका लागि पवित्र र अर्थपूर्ण पर्व हो । मानव उद्धार, प्रेम र शान्तिको सन्देश बोकेको यस पर्वलाई गोस्पल एसेम्बली चर्चले आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक एकताको माध्यमका रूपमा प्रस्तुत गरेको देखियो ।

बहुसांस्कृतिक तथा बहुधार्मिक सहर नेपालगन्जमा क्रीष्टमस चर्चभित्र सीमित नभई आपसी सम्मान र सहअस्तित्वको उत्सवका रूपमा मनाइएको आयोजकको भनाइ छ । कार्यक्रमले सबै उमेर र पृष्ठभूमिका मानिसलाई एउटै छानामुनि जोड्न सफल भएको छ ।
चर्च परिसर आकर्षक सजावट, क्रीष्टमस ट्री, बत्ती र क्यारल गीतले सजिएको थियो। स्वयंसेवकहरूको सक्रिय व्यवस्थापन र आतिथ्यले कार्यक्रमलाई थप व्यवस्थित र आत्मीय बनाएको थियो ।
कार्यक्रमको प्रारम्भ प्रार्थना तथा स्तुति–प्रशंसाका गीतबाट गरिएको थियो । त्यसपछि क्रमशः नृत्य, नाटक, बालबालिकाद्वारा पद वाचन तथा विशेष सन्देशहरू प्रस्तुत गरिएका थिए । चार घण्टाभन्दा बढी समयसम्म चलेको कार्यक्रममा सहभागीको उत्साह निरन्तर देखिनु कार्यक्रमको सफलताको सूचक मानिएको छ ।


कार्यक्रममा प्रस्तुत छ वटा नृत्यले क्रीष्टमसको खुशी र आध्यात्मिक भावनालाई दृश्य कलाको माध्यमबाट उजागर गरेका थिए । युवा तथा बालबालिकाको सहभागितामा प्रस्तुत नृत्यले प्रभु येशूको प्रेम, करुणा र मानवताप्रतिको सन्देश प्रवाह गरेका थिए ।

त्यस्तै, तीन वटा नाटक कार्यक्रमका प्रमुख आकर्षण बने । नाटकहरूले प्रभु येशूको जन्मकथा, आधुनिक समाजमा देखिने निराशा र ख्रीष्टको शिक्षाले जीवनमा ल्याउने सकारात्मक परिवर्तनलाई प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए । यी प्रस्तुतीले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिन्थ्यो ।


बालबालिकाद्वारा प्रस्तुत बाइबलको पद वाचनले कार्यक्रममा थप ऊर्जा थप्यो । साना उमेरका बालबालिकाको आत्मविश्वासपूर्ण प्रस्तुतीले उपस्थित अभिभावक तथा श्रद्धालुहरूलाई उत्साहित बनाएको थियो ।


कार्यक्रमको मुख्य सन्देश अपोस्टल के.वि. बसेल र सुशीला बसेलले दिनुभएको थियो । उहाँहरूले प्रभु येशू ख्रीष्टको जन्मको उद्देश्य, प्रेम, क्षमा र सेवाको महत्व तथा आजको समाजमा ख्रीष्टको शिक्षाको सान्दर्भिकतामाथि प्रकाश पार्नुभयो ।

ख्रीष्टमस्को अवसरमा पास्टर विकास बसेल, प्रतिमा बस्याल, डा. प्रकाश बसेल, निता शाह र डा. डक्टप्रसाद धितालले शुभकामना सन्देश व्यक्त गर्नुभयो । उहाँहरूले शान्ति, सद्भाव र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

चर्च व्यवस्थापक मोहन चौधरीका अनुसार कार्यक्रममा करिब दुई हजार जनाको उपस्थिति रहेको थियो । ठूलो संख्यामा उपस्थित श्रद्धालुलाई सहज रूपमा व्यवस्थापन गर्न सकिएको उहाँले बताउनुभयो ।


कार्यक्रमको अन्त्यमा आयोजित क्रीष्टमस भोजमा दुई हजारभन्दा बढी मानिस सहभागी भए । उक्त भोज आपसी साझेदारी, सेवा र बराबरीको प्रतीक बनेको सहभागीहरूको भनाइ छ ।


गोस्पल एसेम्बली चर्चमा सम्पन्न ख्रीष्टमस कार्यक्रमले नेपालगन्जमा धार्मिक सहिष्णुता, सामाजिक एकता र मानवीय मूल्यलाई थप सुदृढ बनाएको विश्वास आयोजकले व्यक्त गरेका छन् ।