गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो : ओली

६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् । सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो,’ आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नमिल्नसक्छ, भोलिपल्ट मिल्छ ।  उनले अघि भने, ‘पाँचदलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ? एमाले अध्यक्ष ओलीले चुनाव चिह्नको रंग हरियो राखेकोमा समेत आयोगको आलोचना गरे ।

पाँचदलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहेको उनको आरोप छ । ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निश्पक्ष भएर काम गर्नुपर्छ । अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा कुन रंग दिने भन्दा रुखको रंग सबैलाई दिने अरे । रुख पनि हरियो पारेर, सूर्य पनि हरियो पारेर चुनाव चिह्न दिने रे ! कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्‍यो । आयोगले दलहरुसँग परामर्श नगरेको र कांग्रेसको अनुकुल हुने चुनाव चिह्नको रंगबारे निर्णय गरेको भन्दै उनले भने, ‘सूर्य हरियो हुन्छ कहिं ?