भरतपुर महानगरद्वारा साइकल वितरण


६ चैत्र २०७८, चितवन। भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल वितरण गरिएको छ। भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो। २ वर्ष अघिदेखि सुरु गरेको कार्यक्रम अन्तर्गत यो पटक भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका गरी ६० जना छात्रालाई आज साइकल वितरण गरिएको भरतपुर महानगर सामाजिक महाशाखाले जनाएको छ। महानगरले हालसम्म ५ सय २४ जना छात्रालाई साइकल प्रदान गरिसकेको छ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको मेयर रेणु दाहालले जानकारी दिइन्। महानगरले यो वर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने मेयर दाहालले बताइन्। एक समारोहका बिच भरतपुर महानगरकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाहसहितको टिमले संयुक्त रूपमा छात्राहरू पश्चिम चितवनको भीम नगर माविबाट साइकल वितरण गरेका थिए।

सो अवसर बोल्दै मेयर रेणु दाहालले विकासको गतिले अगाडी बढेको भरतपुरमा शैक्षिक सुधारका लागि स्थानीय सरकारले गर्नुपर्ने शैक्षिक सुधारकै कारण ५ हजार भन्दा बढी विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेको जानकारी दिइन्। उनले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताइन्। उनका अनुसार महानगरभित्रका सरकारी विद्यालयको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको छ।

यस्तै, उपमेयर पार्वती शाहले विपन्न परिवारका छात्राहरूलाई लक्षित गरी गरिएको यो कार्यक्रमले छात्राहरूलाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्। उनले महानगरले छात्राहरूलाई नै लक्षित गरी निःशुल्क रूपमा सेनेटरी प्याड वितरणदेखि स्कुल बस प्रदानसहितका शैक्षिक सुधारका आधा दर्जन बढी कामहरू गरेको बत्ताइन्।

साइकल पाएपछि छात्राहरू खुसी भएका छन्। साइकलका कारण विद्यालय जान आउन सजिलो हुने र यसले गर्दा पढाई लाई निरन्तरता दिन सहज हुने छात्राहरूले बताए। कार्यक्रममा बोल्दै छात्रा भरतपुर २० भीमचन्द्र आधारभूत विद्यालय कक्षा दुईमा अध्ययनरत मञ्जु परियारले साधन नहुँदा विद्यालय पुग्न ढिला हुने र कक्षा छुट्ने समस्याको अन्त्य भएको बताए।

यस्तै, भरतपुर १८ भुवनवस्ती स्थित आधारभूत माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत सविना नेपालीले पनि आफूलाई मात्र होइन साइकल नभएका साथीहरूलाई पनि सहयोग गर्न पाउने अवसर प्राप्त भएको बत्ताइन्। उनी मात्रै होइन भरतपुर १८ गुञ्जनगर मावि कक्षा ११ मा अध्ययनरत सम्झना दुलालेको पनि खुसी उस्तै थियो। उनले साइकल प्रदान गरेकोमा मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई धन्यवाद दिँदै यस्तै दिन दुखीका लागि विभिन्न काम गर्न सुझाव दिइन्।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरको शैक्षिक सुधार नीतिले यहाँ शैक्षिक आर्कषण बढेको बताए। उनका अनुसार महानगरले हालसम्म शैक्षिक सुधारका लागि ८० लाख बजेट छुटाउँदै सुरु भएको सुधार कार्यक्रममा यो वर्ष मात्रै १७ करोड रुपैयाँ छुटाई काम भएको बताए।