संविधानवादबाट बाहिर नजान सभामुख र राष्ट्रिय सभा अध्यक्षको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशको विद्यमान विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास खोज्नुपर्ने बताएका छन्।

उनीहरूले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। साथै, राष्ट्रपतिले संविधानको मार्गदर्शनअनुसार पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने स्पष्ट पारेका छन्।

जेनेरेशन–जेड (जेनजी) आन्दोलनका क्रममा २३ र २४ भदौमा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ। सभामुख घिमिरे र अध्यक्ष दाहालले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।