
नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । ‘मनाऔँ तीज रमेर–जोगाऔँ संस्कृति जमेर’ भन्ने नारासहित महासंघको महिला विभागले आयोजना गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधि, महिला पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
महिला विभाग संयोजक करुणा शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले तीज पर्व नेपाली महिलाहरूको मौलिक पर्व भएको उल्लेख गर्दै पछिल्लो समय यसको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पत्रकारहरूले समाजलाई सचेत पार्दै मौलिक संस्कृतिको संरक्षणमा भूमिका खेल्नुपर्नेमा जोड दिए । चौलागाईले मौलिक तीज गीत गाएर कार्यक्रमको उद्घाटनसमेत गरेका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले तीज पर्व भड्किलो र खर्चिलो बन्दै गएको टिप्पणी गर्दै संस्कृतिलाई यथावत् राख्न पत्रकारहरू गम्भीर बन्नुपर्ने धारणा राखे । त्यसैगरी महासंघका पूर्वअध्यक्षहरू नीरजकुमार गौतम र रुद्र सुवेदीले पत्रकार महिलाहरूको सक्रियताले तीजलाई उत्सवका रूपमा मनाउने वातावरण बनेको भन्दै धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील महिला पत्रकारका अध्यक्ष सावित्री गिरी, सञ्चारिका अध्यक्ष पवित्रा परियारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महिला विभाग सदस्य आशा विकले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन अर्की सदस्य धना विष्ट केसीले गरेकी थिइन् ।



सन्तोष कुमार बिष्ट । ८ भाद्र २०८२, आईतवार २१:४२