स्थानीय तहमा कांग्रेसको अवस्थाबारे चैत १५ भित्र रिपोर्ट पठाउन निर्देशन

४ चैत २०७८, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे १५ चैतभित्र जानकारी गराउन देशभर सर्कुलर गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रदेशदेखि वडासम्मका कार्यसमितिको दायित्व बारेमा जानकारी गराउँदै सर्कुलर पठाएका छन् । महामन्त्रीद्वयले जारी गरेको सर्कुलरमा अरु दल विभाजन पश्चात् पार्टीको शक्ति सन्तुलनको जानकारी पठाउन निर्देशन दिइएको छ । कांग्रेस छोडेर अन्य पार्टीमा गएका स्थानीय कार्यकर्ता र त्यसले पारेको पार्टीमा प्रभाव आकलन गरी केन्द्रमा पठाउन भनिएको छ । वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन माहोल र पार्टीले तय गर्नुपर्ने बाटोका बारेमा केन्द्रलाई चैत १५ भित्र जानकारी गराउन भनिएको छ । सात पृष्ठको सर्कुलरमा स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गतिविधि गर्न तल्लो तहका सबै संरचनालाई निर्देशन दिइएको छ । पेशा, व्यवसाय, अध्ययनका लागि प्रदेश वा केन्द्रीय राजधानीमा गएका नागरिकहरुको तथ्यांक राख्न तथा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । पुराना मतदाताको अवस्था सहित नयाँ थपिएका मतदाता सहितको अभिलेख राख्न पनि भनिएको छ ।

स्थानीय तहलाई आफैं घोषणापत्र बनाउन निर्देशन दिइएको छ । साथै, कांग्रेस विजयी भएका स्थानमा आफूले जितेको स्थानमा पाँच वर्षको अवधिमा गरेका सुधार, उपलब्धि तथा सकारात्मक कार्य घोषणापत्रमा समावेश गर्न सुझाइएको छ । आफू पराजय भएका स्थानमा विजयी दलले गरेका भ्रष्टाचार र अनियमितता देखाउन निर्देशन दिइएको छ । तल्लो संरचनाले गरेका गतिविधिको हरेक १५ दिनमा गतिविधिको उपल्लो तह सहित केन्द्रलाई जानकारी गराउन सर्कुलर गरिएको छ । जिल्ला कार्यालयहरु व्यवस्थित गराउन, विधानले तोके बमोजिम नियमित बैठक बस्न, जातीय छुवाछुतमा संलग्न कार्यकर्ता भेटिए पार्टीबाट निष्कासन गर्न पनि कांग्रेसले मातहतका कार्यालयलाई भनेको छ ।