नेपालगन्ज । देशभर जेन्जी पुस्ताले भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल बन्द विरुद्ध आन्दोलन थालेका छन् । प्राविधिक पुस्ता मानिने १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूको साथ रहेको यस आन्दोलनले पछिल्ला दिनमा व्यापकता पाएको छ ।
आन्दोलनकारी युवाहरूले सामाजिक सञ्जाल बन्द गरिनु युवा पुस्ताको स्वतन्त्रता, अभिव्यक्ति अधिकार र उद्यमशीलताको अवरोध भएको भन्दै तत्काल खुला गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, देशभर मौलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार गम्भीर नबनेसम्म आन्दोलनलाई अझ सबल बनाउन चेतावनी दिएका छन् ।
यस्तै बाँकेको कोहलपुर र नेपालगन्जको विभिन्न स्थानमा जेन्जी पुस्ताका युवाहरू सडकमा उत्रिएका छन् । उनीहरूले ‘सामाजिक सञ्जाल खुला गर’, ‘भ्रष्टाचार नियन्त्रण गर’ जस्ता नारासहित विरोध प्रदर्शन गरेका छन् ।
जेन्जी पुस्ता प्रविधिमा हुर्किएको, नयाँ सोच बोकेको र उद्यमशीलतामा सक्रिय पुस्ता मानिन्छ । समाज, राजनीति, स्वतन्त्रता र समानतामा विश्वास गर्ने यो पुस्ताको आन्दोलनले देशभरका युवाहरूलाई उर्जाशील रुपमा एकताबद्ध बनाएको छ ।




सन्तोष कुमार बिष्ट । २३ भाद्र २०८२, सोमबार १५:३०