लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै

१५ बैशाख २०८० नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपराह्न १ बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले शपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुङ्गो भने लागेको छैन ।  मुख्यमन्त्री चौधरीले मन्त्रीहरूका आकाँक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहेका छन् ।