अखिल नेपाल खेलकुद महासङ्घ बाँकेको अध्यक्षमा सुरेन्द्र शाह `जम्बो´चयन 

नेपालगञ्ज । अखिल नेपाल खेलकुद महासङ्घ बाँकेको प्रथम जिल्ला सम्मेलनले सुरेन्द्र जङ्ग शाह जम्बोको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ।

नेपालगञ्जमा शनिबार सम्पन्न सम्मेलन चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको हो। सम्मेलनमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सह–सचिव तथा महासङ्घ फ्याक्सन इञ्चार्ज क. अक्कल बहादुर बम प्रमुख अतिथि रहनुभएको थियो।

महासङ्घका केन्द्रीय उपाध्यक्ष गेहेन्द्र ढकाल, पार्टी जिल्ला संयोजक नरेन्द्र पान्डे, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव रेशम अधिकारीलगायतको उपस्थिति रहेको सम्मेलनको बन्द सत्रले २१ सदस्यीय समिति घोषणा गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बमले खेल राष्ट्र चिनाउने माध्यम भएको भन्दै खेलाडी र खेलकर्मीको समस्याप्रति पार्टी गम्भीर हुनुपर्ने बताए। केन्द्रीय उपाध्यक्ष ढकालले खेलकुदलाई अब गहन रूपमा बुझ्नुपर्ने धारणा राखे भने जिल्ला संयोजक जेम्सले खेल भावनासँग जोडिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर बाँकेका जिल्ला सदस्य जनार्दन खत्रीले गर्नुभएको थियो।