देश इतिहासकै कठिन मोडमा पुग्यो : देव गुरुङ

 

६ चैत्र २०७८ काठमाण्डाैं । माओवादी केन्द्रका नेता देव गुरुङले देश इतिहासकै कठिन मोडमा रहेको बताएका छन् । नेता गुरुङले सुगौली सन्धिपछि यतिधेरै संकट नेपाली राजनीतिमा कहिल्यै नदेखिएको बताए । शनिवार पार्टीको सहायक संगठन वाईसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समिति घोषणा एवं प्रशिक्षण कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्नु बाध्यता बनेको बताए । यसले देशलाई इतिहासकै कठिन मोडमा ल्याइपुर्‍याएको जिकिर समेत उनले गरे । पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका उनले संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरी नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत सदस्य राष्ट्र बनाउने षड्यन्त्र रोक्न भूमिका खेलेको भन्दै यो उच्च सावधानीपूर्वक गरिएको प्रयास भएको प्रष्ट पारे ।

यद्यपी, नेपाललाई अमेरिकी सैन्य रणनीति अन्तर्गत राख्न प्रयास भैरहेको बताउँदै उनले यदि त्यसलाई रोक्न नसके देश युक्रेन र सिरिया बन्ने खतरा रहेको समेत बताए । नेपाल जीवन र मरणको स्थितिबाट गुज्रिरहेको जिकिर गर्दै उनले आगामी निर्वाचनमा दलहरूको हैसियतपछि त्यसको दृश्य देख्न सकिने प्रष्ट पारे । आगामी निर्वाचनमा देशभक्त र क्रान्तिकारीहरूलाई हार्ने छुट नभएको तर्क गुरुङले गरे । चुनावी परिणामअनुसार माओवादी केन्द्रको संसदमा थोरै संख्या हुँदा एमसीसी रोक्न नसकिएको दावी गर्दै उनले वर्तमान अवस्थामा एमसीसीको सम्भावित लक्ष्यमा ब्रेक लगाउँदै राष्ट्रहित अनुरुप व्याख्यात्मक टिप्पणी गरी एमसीसी अघि बढाउने निर्णय भएको र माओवादी केन्द्रको प्रयासले मात्र त्यो सम्भव भएको उनले बताए । गुरुङले यसलाई आंशिक सफलताको रुपमा लिनुपर्ने बताए ।