अवरुद्ध नाग्म-जुम्ला सडकखण्ड खुल्यो

१ कार्तिक २०७९ जुम्ला । अबिरल बर्षाका कारण  अवरुद्ध कर्णाली राजमार्गको जुम्ला-नाग्म सडकखण्ड खुलेको छ। पहिराे गएर सडक अवरुद्ध भएकाे थियाे, सडक संचालनमा ल्याउन करिब एक साता लामो प्रयासपछि नाग्म-जुम्ला सडक खण्ड खोल्न सफल भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारा-लिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए। उनले अब जुम्ला-नाग्म सडक खुलाइएको बताए।

उनले भने, ‘अवरुद्ध सडक खुलाउन पहिरो गएको क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सब-इन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएका थियौँ। कर्णाली राजमार्गमा खटिएका सब-इन्जिनियर गोविन्द अधिकारीका अनुसार मंगलबार बेलुकी जुम्ला बजारदेखि नाग्म सडकखण्ड खुलाएपछि अनुगमन पनि गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, डिभिजन सडक कार्यालयका प्रमुख श्रेष्ठ‚ राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका निमित्त प्रमुख धनराज शाहीसहित सुरक्षा निकायका प्रमुख र पत्रकार महासंघले जुम्लादेखि कालिकोटको भिग्मसम्म अनुगमन गरेको हो। राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाए पनि पहिरोको दीर्घकालीन व्यवस्थापन गर्नु आवश्यक रहेको बताए।

प्रमुख जिल्ला अधिकारी केशरीले सडक खुलाउने र राजमार्ग अवरुद्ध हुन नदिइ नियमित यातायात सञ्चालन गर्न सबैको सहयोग आवश्यक रहेको बताए। उनले इन्धन अभाव भएकाले उपलब्ध गराउने प्रयास भईरहेको बताए ।

डिभिजन सडकका अनुसार कर्णाली राजमार्गको २५ प्रतिशत सडकखण्ड खुल्न बाँकी नै रहेको छ। डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले कालिकोटको पिलीदेखि सेराबाडासम्म काम सकेर गाडी पुगेको छ । सब-इन्जिनियर गोविन्द अधिकारीका अनुसार सेराबाडादेखि नाग्मसम्मको करिब ३० किलोमिटरमा सबैभन्दा कठिन अवस्था छ। धनाडादेखि नाग्मसम्म मात्रै १४/१५ स्थानमा ठूला ढुंगा फुटाउनुपर्ने अवस्था रहेको छ।