पहल बहादुर के.सी.
नेपालगञ्ज । समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा राजेन्द्र बहादुर विसी चयन भएको छन। शनिबार सम्पन्न सहकारीको २१औँ वार्षिक साधारण सभाले विसीलाई आगामी एक वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो।
यसअघि सहकारीका निर्वमान अध्यक्ष बसन्त कुमार जोशीले व्यक्तिगत तथा घरायसी कारणले सहकारीमा पर्याप्त समय दिन नसक्ने बताउँदै कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएका थिए। उहाँको राजीनामा साधारण सभामा प्रस्तुत गरी स्वीकृत गरिएको थियो।
साधारण सभामा नयाँ सञ्चालक समिति तथा पदाधिकारीहरू प्रस्तुत गरिएपछि बहुमतका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो। सहकारीको उपाध्यक्षमा अयोध्या प्रसाद पासी, सचिवमा राज कुमार कहार, सह-सचिवमा देवान्त थापा क्षेत्री र कोषाध्यक्षमा उमानाथ तिवारी चयन हुनु भएको छ। त्यस्तै सदस्यहरूमा मिठ्ठु श्रेष्ठ, विनय शम्सेर राणा, विरेन्द्र बहादुर आरसी, प्रेम बहादुर वली, पुजन कुमार न्यौपाने र पंकज कुमार श्रेष्ठ सर्वसम्मत चयन गरिएको हो ।
यसैगरी लेखा समितिको संयोजकमा जोग बहादुर कुवर तथा सदस्यहरूमा विनिता आरसी र गोविन्द मान श्रेष्ठ लाई चयन गरिएको छ। यो अधिवेशन साधारण सभा मात्रै भए पनि कार्यकाल सकिन एक वर्ष अगावै सञ्चालक समिति परिवर्तन गरिएको हो।
साधारण सभाका प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोविन्द्र रेग्मीले सहकारी आपसी सहकार्य र विश्वासमा चल्ने संस्था भएको उल्लेख गर्दै साना–साना बचत संकलन गरी आफ्नै शेयर सदस्यलाई आर्थिक सहयोग प्रदान गर्ने सहकारी अभियानलाई सबै मिलेर अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो।
निवर्तमान अध्यक्ष जोशीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा कुल रु. १ करोड ३६ लाख ४५ हजार १६५ रुपैयाँ ४२ पैसा बचत संकलन गरेको छ। आम्दानी–खर्च विवरण अनुसार सो आर्थिक वर्षमा रु. १ लाख ३७ हजार १९४ रुपैयाँ ७ पैसा घाटा देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। घाटा हुनुका विभिन्न कारणहरू पनि सभामा प्रस्तुत गरिएको थियो।
राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीहरू शेयर सदस्य रहेको यो सहकारी बचत तथा ऋणसँगै विभिन्न सेवा–मूलक गतिविधि सञ्चालन गर्दै आएको छ। सहकारी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६, फुल्टेक्रामा अवस्थित छ।




बिहानीको तारा । १९ पुष २०८२, शनिबार १७:२७