
बाँके-एक यस्तो भूगोल जहाँ विकासको सम्भावना र बेवास्ताको कटु यथार्थ सँगसँगै यहाँका जनताहरु बाँचेका छन्। यहाँका केही क्षेत्रमा समृद्धिका उज्याला झल्किएर बसेका छन् भने केही गाउँहरू अझै पनि अँध्यारोमा थलिएर बसेका छन्। यही पृष्ठभूमिमा आर्थिक वर्ष ०८१/०८२ मा प्रारम्भ भएको समावेशी ऊर्जा योजना बाँकेको उज्यालो भविष्यको यथार्थ बनेर उदायो।
लुम्बिनी प्रदेशकी तत्कालीन ऊर्जा मन्त्री तथा कर्मशील नेतृ कृष्णा केसी (नमुना) को नेतृत्वमा यो योजना अगाडि बढाइयो। भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको शैलीले योजनालाई जनजीवनसँग गाँसिएको प्रभावकारी अभियानमा रूपान्तरण गर्यो। राप्ती सोनारी, नरैनापुर र खजुरा गाउँपालिकामा सुरु गरिएको सौर्य ऊर्जा अभियानले जनताको जीवनमा उज्यालोको किरण मात्रै ल्याएन, स्वास्थ्य, शिक्षा, धार्मिक सद्भाव, सुरक्षा र वातावरणमैत्री जीवनशैलीतर्फ समेत उल्लेखनीय परिवर्तन ल्यायो।
सौर्य ऊर्जा योजनाले सबैभन्दा पहिले ग्रामीण स्वास्थ्य क्षेत्रमा प्रभाव देखायो। ढकेरीको महादेवपुरी स्वास्थ्य चौकी, शमशेरगन्ज बर्थिङ्ग सेन्टर, गंगापुर चौकी चौबिस बिगाहा लगायत स्थानहरूमा जडान गरिएका सौर्य उपकरणहरूका कारण रातको समयमा पनि सुत्केरी सेवा, आपतकालीन उपचार तथा औषधिको व्यवस्थापन सहज बन्यो। अँध्यारोका कारण रोकिएका सेवाहरू अब उज्यालोभित्र निस्कन थालेका छन्।
शिक्षा क्षेत्रले पनि यो योजनाको प्रत्यक्ष लाभ लिएको छ। योगिनी मावि गौघाट र जनता आदर्श मावि बैजनाथ–२ मा सौर्य प्यानल जडान भएपछि विद्यार्थी र शिक्षकहरूमा डिजिटल शिक्षाप्रति विश्वास र उत्साह पलायो। जहाँ लोडसेडिङले भविष्यलाई अँध्यारोमा धकेलिरहेको थियो, त्यहीँ अब प्रोजेक्टर र कम्प्युटरको उज्यालो देखिन थाल्यो।
कृष्णा केसीको दृष्टिकोण धार्मिक सहिष्णुताका लागि पनि प्रेरणादायी रह्यो। बर्फानी बाबा मन्दिर, सन्तानेश्वर बाबा मन्दिर र आराधना चर्च शमशेरगन्जमा सौर्य ऊर्जा पुर्याएर उनले सर्वधर्म समभावको व्यावहारिक अभ्यास गरिन्। यो केवल धार्मिक स्थल उज्यालो बनाउने काम थिएन, यो समाजको बीचमा समरसताको उज्यालो फैलाउने दूरदर्शी प्रयास थियो।
यस योजनामा पारदर्शिता र जनसहभागिता प्रमुख विशेषता बने। योजना छनोटदेखि उपकरण खरिद, वितरण र जडानसम्म सबै प्रक्रिया पारदर्शी रह्यो। नेतृ स्वयं स्थलगत अनुगमनमा सक्रिय भइन्। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जानकारी दिएर जनविश्वासमा थप उचाइ पुर्याइन्।
सडक बत्ती जडानले पनि बाँकेको जनजीवनमा उल्लेखनीय प्रभाव पार्यो। अगैया चोक, बैजापुर, कुन्डा, शमशेरगन्ज, नयाँ गाउँ चोक, झन्डहवा, श्रद्धानगर, बाकेगाउँ, खट्कनपुर, शान्तिनगर पिपल चौतार, धनौलीदेखि बनकटुवा चोकसम्म फैलिएको उज्यालोले रातको सुरक्षालाई नयाँ आयाम दियो।
राप्ती सोनारी र नरैनापुरका विभिन्न वडामा १३०० भन्दा बढी घरधुरीमा सुधारिएको चुलो निर्माण कार्यले जनजीवन थप सहज बनाएको छ। स्वास्थ्य संरक्षण, वातावरणमैत्री जीवनशैली र इन्धनको खपतमा कटौती ल्याउने यी चुलाहरू ग्रामीण घरहरूको सास बनेका छन्।
बिधुतीकरण र बायोग्यास जडानका योजनाहरूले पनि बाँकेको दुर्गम बस्तीहरूमा आशाको उज्यालो ल्याएका छन्। गुलरी हुँदै अकलघरवा तर्फको विद्युतीकरण परियोजना र कोहलपुर कृषि हाटबजारमा विस्तार भएको विद्युत् सेवाले उद्योग, कृषि र साना व्यवसायको सम्भावनालाई साकार गराउन थालेको छ। राप्ती गौशाला र नुरदास गौशालामा जडान गरिएका बायोग्यास संयन्त्रहरूले ऊर्जा, मल उत्पादन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिएका छन्। यी सबै योजनाहरू हेर्दा साना लाग्न सक्छन्, तर तिनको प्रभाव ग्रामीण जनजीवनमा आमूल परिवर्तन ल्याउने खालको छ। दलित, जनजाति, मुस्लिम, महिला, मजदुर र कमैया समुदायको जीवनमा यी योजनाले साँच्चिकै विकास आयो भन्ने अनुभूति गराएका छन्।
कृष्णा केसी (नमुना) को नेतृत्व अब केवल सरकारी योजनाको नाममा सीमित छैन, त्यो नेतृत्व विकास, समावेशीता, धर्मनिरपेक्षता, पारदर्शिता र जनमुखी दृष्टिकोणको मूर्त उदाहरण बनिसकेको छ। उनी केवल बजेट कार्यान्वयनको नेतृ होइनन्, उनी योजनाको दीर्घकालीन प्रभावमा विश्वास राख्ने यथार्थवादी नेतृ हुन्।
बाँकेको उज्यालो अब भाषणको विषय होइन, यथार्थको अनुभूति हो। सौर्य प्यानलको उज्यालोभित्र अब सुरक्षित सुत्केरी सेवा, पढ्न सक्ने बालक, समरसता झल्काउने धर्मस्थल, डिजिटल शिक्षा र जन–मैत्री नेतृत्व फस्टाउँदै छन्। कृष्णा केसी (नमुना) अब केवल नाम होइनन्—उनी बाँकेको समावेशी ऊर्जा क्रान्तिको जीवन्त प्रतीक हुन्।



डा. डक्ट प्रसाद धिताल । १२ असार २०८२, बिहीबार ०९:५४