कोहलपुर नगरपालिकालाई माओवादी केन्द्रको ४१ बुँदे ध्यानाकर्षण पत्र

कोहलपुर । कोहलपुर नगरपालिकाको समग्र विकास, सार्वजनिक सेवा सुधार र स्थानीय समस्या समाधानका लागि नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार नगरप्रमुख पूर्ण प्रसाद आचार्यलाई ४१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगर अध्यक्ष बलबहादुर खड्का (अबिरल) को नेतृत्वमा बुझाइएको उक्त पत्रमा नगरभित्र देखिएका विविध समस्या, सुधारका सम्भावित उपायहरू, नीति निर्माणमा ध्यान दिनुपर्ने विषयहरू तथा भावी योजनाका प्राथमिकताहरू समेटिएका छन्।

अध्यक्ष खड्काले कोहलपुरमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, चोरी, डकैतीजस्ता आपराधिक क्रियाकलापमा वृद्धि हुँदै गएको जनाउँदै स्थानीय सरकारले तत्काल कठोर कदम चाल्नुपर्नेमा जोड दिए। साथै, हरेक वर्ष दोहोरिने वर्षायामको विपद्‌बाट हुने धनजनको क्षति न्यूनीकरणका लागि समयमै व्यवस्थित आपत्‌कालीन तयारी आवश्यक रहेको उल्लेख गरे।

ध्यानाकर्षण पत्रमा प्रशासनिक सेवा प्रवाह सुधार, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा पहुँच वृद्धि, सञ्चार पूर्वाधारको विस्तार, सडक तथा ढल प्रणालीको स्तरोन्नति, जल निकासी समस्या समाधानजस्ता बुँदाहरू विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगरप्रमुख आचार्यले प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी आगामी नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे। उनले नगरको दिगो विकासका लागि सबै राजनीतिक दलहरू, नागरिक समाज, युवाहरू तथा समुदायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आफू जनचासोका विषयहरूमा सधैं संवेदनशील रहेको बताए ।