
असार १७, २०७९ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गौतमले तीनजनै नेतासँग बिहीबार भेटवार्ता गरेका हुन् । उनले राजनीतिक भेटघाट जारी रहने समेत जनाएका छन् ।
ओली, प्रचण्ड र नेपालसँगको भेटवार्तापछि नेता गौतमले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने सवालमा सवै सहमति नजिक रहेको दावी गरेका छन् । ‘मेरो भेटघाटको उद्देश्य कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो र त्यो प्रस्ताव उहाँहरुसमक्ष राखेको छु । गौतमले आफ्नो प्रस्तावमा ओली मौन रहेको तर अन्य दुई नेताले सकारात्मक जवाफ दिएको बताए ।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा हामी सवै सहमति नजिक छौ’, गौतमको भनाइ छ । उनले अहिले धेरै कुरा आफुले नभन्ने भन्दै कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउनु सवैका लागि आवस्यक भएको प्रतिक्रिया दिए । नेताहरूसँगको भेटवार्तापछि गौतमले आफ्नो पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।
रातोपाटी



बिहानीको तारा । १७ असार २०७९, शुक्रबार १३:४७