जेष्ठ नागरिकलाई खजुरा गाउँपालिकाद्वारा सम्मान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकाका ६० बर्षभन्दा माथिका १ सय १० जना जेष्ठ नागरिकहरुलाई जाडो समयमा सम्मान स्वरुप बल्याङ्केट बितरण गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरि ६० वर्षभन्दा माथिका १ सय १० जना जेष्ठ नागरिकलाई गाउँपालिकाको कार्यालयले बल्याङ्केट वितरण गरेको खजुरा गाउँपालिकाका  महिला तथा बालबालिका शाखा प्रमुख शुशिला न्याेैपानेले जानकारी दिनुभयो ।

बल्याङ्केट वितरण गर्नुहुँदै खजुरा गाउँपालिकाका  अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले जेष्ठ नागरिकहरू जिउँदो इतिहास भएको बताउनुभयो । उहाँहरू एउटा विश्व विद्यालय हो । विश्व विद्यालयमा लेखिएका पुस्तक पढाइ हुन्छन् भने एक शताब्दी बाच्नुभएका जेष्ठ नागरिकहरूबाट अनुभव र भोगाईको शिक्षा प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । पाका पुस्ताका अनुभव, युवाको जोस र जागरले मात्रै  देशकाे परिवर्तन सम्भव भएको उल्लेख गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले  स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम लगायत विभिन्न किसिमका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो   ।

बल्याङ्केट लिनुहुँदै जेष्ठ नागरिकहरूले खुसी व्यक्त गर्नुभयो । उहाँहरूले स्थानीय सरकारले समय–समयमा हाम्रा समस्या बुझ्दै आएको छ । आगामी दिनमा पनि स्थानीय सरकारले यसरी नै हाम्रो समस्या बुझ्दै जाओस् भन्ने आग्रह जेष्ठ नागरिकको थियो । सो जेष्ठ नागरिक सम्मान कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, लेखा अधिकृत प्रदिप सुनार, लगायतको उपस्थिति रहेको थियोे ।