वैशाख ३० को चुनाव सर्दैन : प्रचण्ड

२५ चैत २०७८ काठमाडौं । सरकारले बैशाख ३० गते स्थानीय तहको चुनावको मिति तय गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरेर तयारी तीव्र बनाइसकेको छ । मतपत्र पनि छापिइसकेको छ । आयोगले शुक्रबार (आज) अपरान्ह पाँच बजे औपचारिक कार्यक्रम नै गरेर आचार संहिता लागू गर्दैछ । तथापि, स्थानीय तहको चुनाव सर्ने हो कि भन्ने हल्ला एकाएक सलह जसरी फैलिइरहेको छ ।

यहीबीचमा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको थियो । बैठक सकिएलगत्तै रातोपाटीले माओवादी अध्यक्ष प्रचण्डलाई सोध्यो– के बालुवाटार बैठकमा चुनावको मिति सार्नेबारे छलफल भएको हो ?माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रातोपाटीसँग भने, ‘सरकार वा गठबन्धन दलहरु कुनै पनि हालतमा बैशाख ३० को चुनाव सार्ने वा यताउता गर्ने पक्षमा छैनन् । चुनाव सर्छ कि भन्ने हल्ला विल्कुल गलत हो ।

कतिपयले विप्लव माओवादीलाई समेत चुनावमा ल्याउनका लागि निर्वाचन कार्यक्रम पछि सार्ने सत्तापक्षबाट तयारी भइरहेको चर्चा गरेका छन् । तर यसबारे चासो राख्दा त्यो सही नभएको माओवादी अध्यक्ष प्रचण्डले बताए । उनले कुनै पनि हालतमा बैशाख ३० को चुनाव यताउता नहुने स्पष्ट पारे । त्यस्तै, सत्तारुढ नेपाली काँग्रेसका एक नेताले निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेकपा एमाले आत्तिएको र उसले चुनाव सार्न चाहेको आरोप लगाए । विपक्षीबाटै चुनाव सर्ने हल्ला फैलिएको उनले आरोप लगाए । सत्तापक्ष चुनाव सार्ने पक्षमा नरहेको ती काँग्रेस नेताले बताए ।

यसैबीच, गठबन्धन दलहरुले स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्न लागेको नेपाली काँग्रेसका एक नेताले बताए । ती नेताले रातोपाटीसँग भने, ‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ ।’गठबन्धनका तर्फबाट देशभरिका ६ वटा महानगरपालिका र उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी टुंगो लगाउनेबारे सामान्य कुराकानी भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको गठबन्धनका नेताहरुले बताएका छन् । शुक्रबार बालुवाटारको छलफलमा सहभागी एक नेताले भने,‘यसबारे छलफल त भइरहेको छ तर ठोस रुपमा टुंगो लाग्न बाँकी छ ।’

सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु शुक्रबार बिहान बालुवाटारमा अनौपचारिक छलफलमा जुटेका थिए । सो छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो । बैठकमा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि सहभागिता थियो । अध्यक्ष माधव नेपाल भने बारा जिल्लामा भएकाले बैठकमा उपस्थित भएनन् ।