लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले गरे पदभार ग्रहण

नेपालगन्ज । लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन ।

२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिले ९ वैशाखमा राजीनामा दिए ।

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘मुख्यमन्त्रीसँग शनिबार कुराकानी भएको थियो’ । ‘उहाँले अहिले पदभार ग्रहण गर्नुस्, असन्तुष्टि सम्बोधन गर्दै जाउँला भनेपछि सहमत भएको हुँ ।’

जसपा आइतबार साँझ फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।