
१३ जेष्ठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको लडाईंमा जनयुद्धमा जस्तै हाम फालेको बताएका छन् ।प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताए । प्रधानमन्त्री प्रचण्डले विगतमा जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने दाबी गरे ।
प्रचण्डले भने ‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु । जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ । हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु । आफु विरुद्ध सत्ता सम्हालेको सुरुदेखि नै विभिन्न तत्वहरुले घेरावन्दी गरेको बताउँदै उनले आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण कसैले चाहेर पनि बिगार्न नसकेको जिकिर गरे । उनले सामाजिक न्याय र सुशासन र समद्धि आफ्नो लक्ष्य भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्ध केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुने र ती एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने बताए । थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उनको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डले बताए ।



बिहानीको तारा । १३ जेष्ठ २०८०, शनिबार २०:१३